Monday, February 4, 2013

कम्प्युटर एडिक्सन

कम्प्युटरबिना बस्नै नसक्ने, लामो समय कम्प्युटरबाट टाढा रहँदा छटपटी महसुस हुने, कम्प्युटरबिना जीवन अधुरो लाग्ने, आवश्यक नभए पनि कम्प्युटरमै भुल्ने बानी छ ? घर परिवार, साथी र आफैंलाई भुलेर इन्टरनेटको भर्चुअल संसारमा हराउनु हुन्छ ? त्यसो हो भने होसियार ! तपाईं कम्प्युटर एडिक्सनको सिकार हुनुभएको छ। 

सूचना-प्रविधिको विकसित स्वरूप हो— कम्प्युटर। कम्प्युटरको प्रयोगबिना संसारै अधुरो लाग्न सक्छ। बहुउपयोगी यही कम्प्युटर मानव समाजका लागि खतरनाक पनि हुन सक्छ ? पछिल्लो एक अध्ययनले यस्तै देखाएको छ। खासगरी कम्प्युटरको बढ्दो लतले समाज नराम्रोसँग प्रभावित हुँदै गएको अध्ययनमा उल्लेख छ। अमेरिकामा गरिएको अध्ययनअनुसार 'कम्प्युटर एडिक्सन'को समस्या दिनानुदिन बढ्दै गएको छ। 

 कम्प्युटरमा आवश्यकताभन्दा बढी समय बिताउने बानी छ भने सोच्नुहोस्, यो कम्प्युटरप्रतिको लगाव वा प्रेम होइन, लत हो। कम्प्युटर-इन्टरनेटमा काम गर्ने लाखौं व्यक्ति अहिले यही समस्याको सामना गरिरहेका छन्। यस्ता व्यक्ति आफ्नो वास्तविक जीवनलाई भुलेर कम्प्युटर-इन्टरनेटमा बढी रम्छन्। यसबाट दैनिक कार्य वा जिम्मेवारी पनि प्रभावित भैरहेको हुन्छ। उनीहरू घरमा गएर सुत्ने वा आराम गर्ने बेला पनि कम्प्युटर र इन्टनेटकै बारेमा मग्न हुन्छन्। यिनीहरू उठबस, खानपिन, सपना बिपना, यात्रा सबैमा कम्प्युटरकै साथ खोज्छन्। यतिसम्म कि फुर्सदमा उनीहरूको मन मस्तिष्कमा कम्प्युटर-इन्टरनेट नै छाइरहेको हुन्छ। 

कम्प्युटरका साथ 'साइवर स्पेसमा' समय बिताउने पागलपन लगातार बढिरहेको अध्ययनले देखाएको छ। आज धेरै मानिस आफ्नो वास्तविक घर परिवार, साथीलाई भुलेर यही भर्चुअल संसारमा समय खर्चिरहेका छन्। उनीहरू ताजा हावा वा न्यानोका लागिसमेत इन्टरनेटको सहाराबाट प्राकृतिक चित्र वा क्लिप हेरेर सन्तुष्टि लिने प्रयास गर्छन्। 

पछिल्लो समय सोसियल साइटको प्रचलन बढेको छ। जहाँ मानिसहरू घन्टौ समय व्यतीत गरिरहेका हुन्छन्। सोसियल साइटमार्फत स्ट्याटस अपडेट गर्ने, चिने-नचिनेका मानिससँग च्याट गर्ने, साथी बनाउने, ब्लग लेख्ने सञ्जालमा फसिरहेका छन्, जसले गर्दा उनीहरू नजानिँदो तरिकाले निजी एवं सामाजिक जीवनबाट टाढिँदै गएका छन्। 

उनीहरू मनमा दबिएको इच्छा, कुण्ठा त्यही इन्टरनेटमा पोखिरहेका हुन्छन्। उनीहरूको लगाव यौन, हिंसा तथा भिडियो गेममा हुन्छ। यही चक्करमा व्यक्तिले आफ्नो दायित्व, काम र जिम्मेवारी बिर्सिरहेका छन्। कतिसम्म भने उनीहरूलाई आफ्ना पति/पत्नी, छोराछोरीको हालखबर पनि थाहा हुँदैन। पारिवारिक गतिविधिबाट बेखबर उनीहरू सोसियल साइटको माध्यमबाट बनाइएका दूर दराजका साथीका बारेमा भने अपडेट रहन्छन्। 

उनीहरूले घरको बिजुली, पानीको बिल तिर्ने कामसमेत बिर्सिएका हुन्छन् तर फेसबुक, टि्वटरमा कसैलाई कमेन्ट वा रिप्लाई गर्न बिर्सदैनन्। विदेशमा त यस्तै कारणले जागिर गुमाउनुपरेको वा पति-पत्नीबीच झैझगडा हुने घटना धेरै सुनिन्छ। डाक्टर, मनोविशेषज्ञ एवं समाजशास्त्री कहाँ पनि यस्ता समस्या आउने गरेका छन्। 

कम्प्युटरको लतबाट उत्पन्न यस्ता विकृतिका कारण कतिपयले मानसिक तथा शारीरिक समस्या खेपिरहेका होलान्। घण्टौंसम्म कम्प्युटरमा आँखा गाड्ने, एउटै स्थितिमा बस्ने व्यक्तिहरूमा आँखा सुख्खा हुने, रातो हुने, निन्द्रा नलाग्ने, थकाइ लाग्ने, कम्मर र गर्दन दुख्ने, हात-खुट्टा सुन्निने समस्या देखिएको छ। डाक्टरले रोगीको गम्भीरता हेरेर कतिपयलाई वर्षभर कम्प्युटरमा नवस्न समेत चेतावनी दिएका छन्। 



पासवर्ड बिर्सने भए

सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामग्री सुरक्षित राख्ने एकमात्र उपाय हो— पासवर्ड। मेल होस् वा बैंक एकाउन्ट वा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्न नै किन नहोस् पासवर्ड आवश्यक हुन्छ।

यस्तो अवस्थामा आफ्नो अकाउन्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउन्टमा सजिलै प्रवेश पाउन यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जुन सुरक्षित मात्र होइन झ्वाट्ट सम्झने खालको पनि होस्।

लामो समयपछि आफ्नो इमेल एकाउन्ट खोल्दा पासवर्ड सम्झना नभएर फसाद परेको अनुभव धेरैको छ। कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले आफ्नो इमेल एकाउन्ट ह्याक पनि गरेको होला। त्यसैले आफ्नो अकाउन्ट सुरक्षित बनाउन पासवर्ड सजिलै सम्झन सकिने मात्र होइन सुरक्षित पनि हुनुपर्छ।

पासवर्ड सुरक्षित मात्र होइन, नबिर्सने खालका बनाउन निम्न उपाय अपनाउन सकिन्छः

सुरक्षित पासवर्ड छान्न आफूलाई मनपर्ने शब्द वा संकेत छान्नुपर्छ र दुवैलाई जोडेर पासवर्ड तयार गर्नुपर्छ। आफ्नो फेवरेट शब्द तथा संकेत सितिमिति बिर्सिंदैन र आफ्नो पासवर्ड सुरक्षित पनि हुन्छ। 

आफूलाई मनपर्ने कुनै वाक्यलाई छोटो रूप दिएर पासवर्ड बनाउन सकिन्छ, जस्तैः भबत तजभ अजभभकभदगचनभच वाक्यलाई ततजअजकदचनच बनाएर पासवर्ड बनाउन सकिन्छ। 

नम्बरलाई शब्दमा बदलेर पनि सुरक्षित एवं सम्झना सकिने खालको पासवर्ड सेटिङ गर्न सकिन्छ। आफ्नो मोबाइल नम्बरलाई शब्दमा बदलेर पासवर्ड बनाउन चाहने हो भने ९८४१'.. लाई आइएचडीए'. बनाएर पासवर्ड सेट गर्न सकिन्छ। त्यस्तै आफ्नो नामको अक्षरलाई अंकमा बदलेर पनि पासवर्ड बनाउन सकिन्छ। 

पासवर्डको पहिलो अक्षर स्मल र त्यसपछिका अक्षर क्यापिटल लेटरमा लेख्न सकिन्छ। यसो गर्दा पासवर्ड ह्याक हुने खतरा कम हुन्छ। ह्याकरहरूले एउटै लेटरको पासवर्ड बढी ह्याक गर्ने गरेका छन्।

स्पाम मेलबाट छुट्कारा पाउने उपाय

इन्टरनेटमा दिनहुँ करोडौँ इमेल आदान-प्रदान हुन्छन्, तर तीमध्ये झन्डै आधाजसो स्पाम इमेल हुन्छन्। कामै नलाग्ने स्पाम मेल आफ्नो इमेल ठेगानामा आउँदा जोकोही दिक्क हुनु स्वाभाविक हो। वास्तवमा स्पाम मेलमा खासगरी कम्पनीहरूका विज्ञापन वा विभिन्न प्रकारका अफर तथा सूचनाहरू देख्न पाइन्छ जुन उक्त इमेल प्रापकको सरोकारको विषय हुँदैन। यस्ता कतिपय स्पाम मेल खतरनाक पनि हुन्छन् अर्थात् यी स्पाम मेलमा भाइरस पनि पठाइन्छ। भाइरस भएका स्पाम मेल खोलियो भने त्यसले कम्प्युटरको हार्डडिस्कको डाटासमेत नष्ट गरिदिन सक्छ। स्पाम मेल इमेल प्रयोगकर्ताको टाउको दुःखाइ नै हो र यसलाई दिनहुँ डिलिट गर्दा-गर्दा सबै हैरान हुन्छन्, तर अब दिनहुँ स्पाम मेल डिलिट गर्ने दुःख बेहोर्नुपर्ने छैन। आफ्नो इमेल ठेगानामा यस्ता स्पाम मेल ब्लक गर्न सकिन्छ। त्यसका लागि निम्न उपाय अपनाउनुपर्छः

यदि जिमेल प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा आफ्नो इमेल एकाउन्टमा लगइन गर्नुहोस्। त्यसपछि सेटिङ अप्सनमा क्लिक गर्नुहोस्। सेटिङ आइकनमा क्लिक गरेपछि त्यहाँ एउटा फिल्टर अप्सन खुल्नेछ। त्यहाँ आफूलाई दुःख दिइरहने स्पाम इमेलको ठेगाना लेख्नुहोस्, स्पाम मेलको ठेगाना लेखेसँगै चूज एक्सन बक्समा रहेको डिलिट अप्सनमा टिक लगाउनुहोस् र सेटिङ सेभ गर्नुहोस्। यति गरिसकेपछि आफ्नो मेल बक्समा आउने स्पाम मेल आफैं डिलिट हुनेछन्। यदि याहू मेल प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा इमेल अकाउन्ट लगइन गर्नुहोस्। दायाँतर्फ रहेको अप्सनमा क्लिक गर्नुहोस्। अप्सनमा क्लिक गर्दा एक ड्रप डाउन मेनु खुल्नेछ, जसमा मोर लेखिएको अप्सन छान्नुहोस्। त्यसपछि बायाँतर्फ रहेको फिल्टर बक्सलाई सेलेक्ट गर्नुहोस् र एडिट फिल्टरमा स्पाम मेल र साइटको नाम लेख्नुहोस्। त्यसभन्दा तल दिइएको मूभ टू ट्रास अप्सनमा टिक लगाउनुहोस्। त्यसपछि आफ्नो इमेल एकाउन्टको मेल बक्समा कुनै पनि स्पाम मेल आउनेछैन।

आउँदो पुस्ताको चिप

भारतीय मूलका अमेरिकी नागरिक राज दत्तले कम ऊर्जा खपत गर्ने कम्प्युटर चिप निर्माण गरेका छन्। उक्त चिपले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको ध्यान आकषिर्त गरेको छ, जसलाई महत्वकांक्षी लडाकु विमान एफ-३५ ज्वाइन्ट स्ट्राइक फाइटरमा परीक्षण गरिनेछ। आइआइटी खडगपुरका पूर्व छात्र र एपीआइसी एवं फोटोनिक कर्पोरेसनका अध्यक्ष राज दत्तद्वारा विकसित उक्त चिपका कारण कम्प्युटर प्रोसेसरले ९० प्रतिशत कम विजुली खपत गर्नुका साथै कम्प्युटरलाई ६० प्रतिशत द्रुत बनाउँछ। 

ल्यापटप खरिद गर्नुअघि 

ल्यापटपको टिकाउपन तथा ब्याट्री व्याकअपका सम्बन्धमा बुझ्नुपर्छ। 

स्क्रिन कस्तो छ ? त्यसको आकार र रिजुलेसनमा ध्यान दिनुपर्छ। 

कुनै ल्यापटपमा यति सानो कि-बोर्ड हुन्छ कि, हातले टाइप गर्नै गाह्रो हुन्छ। तसर्थ यस्तो ल्यापटप लिनुपर्छ जसमा कि-वोर्ड सजिलै चलाउन सकियोस्। 

ल्यापटप खरिद गर्नुअघि त्यसको वारेन्टीका बारेमा जानकारी लिनुपर्छ। अतिरिक्त प्याकेज छ भने त्यसका बारेमा पनि जानकारी राख्नुपर्छ। 

No comments:

Post a Comment